काठमाडौँ । नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई थप दुई दिन हिरासतमा राख्न अदालतबाट म्याद थप गरिएको छ ।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि आईतबार अपराह्न अधिकारीलाई काठमाडौँ ल्याई अदालतबाट दुई दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, “अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, हामीले काठमाडौँ ल्याएर अदालतबाट दुई दिनको म्याद भएको छ ।”
यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको आरोप छ ।
यसैगरी नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी अधिकारीलाई गरेको कारबाहीलाई शनिबारको एमाले केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।










