काठमाडौँ । निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै देशभरका चिकित्सकहरू निरन्तर आन्दोलन गर्दै आएका छन् । एक महिनादेखि दबाबमुलक कार्यक्रम गर्दै आएका चिकित्सकहरूले गत शुक्रबारदेखि आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गरेर आन्दोलन गर्दै आएका हुन् ।
आइतबार समेत पानीमा रुझ्दै विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलाबाट बिजुली बजारको पुलसम्म र्याली निकालेका हुन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरेले पानीमा भिज्दै र्याली निकालिरहेको जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगले नीजि मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूलाई सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयन गर्नुका साटो आयोगले नीजिको सिट यथावत राखेर सरकारीको मात्रै सार्वजनिक गरेको थियो ।
त्यसपछि चिकित्सकहरूले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका हुन् । सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै चिकित्सकहरु सडक आन्दोलन गर्दै आएका छन् ।
गत माघ २५ गते आयोगले निजी मेडिकल कलेजमा अध्ययरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह (४८ हजार) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो ।

















