रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको ‘दोस्रो तिलोत्तमा दलित ज्ञान उत्सव २०८२’ शनिबार भव्यरूपमा सम्पन्न भएको छ। न्याय, समानता र अधिकारको नारा बोकेको यो दुईदिने ज्ञान उत्सवले तिलोत्तमा नगरलाई सामाजिक न्याय र मानवताको क्षेत्रमा उदाहरणीय बनाएको छ।
उत्सवको समापन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले एक विशेष समारोहका बीच गरेका थिए। मन्त्री तिमिल्सेनाले पछाडि पारिएको दलित समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन स्थानीय जनप्रतिनिधिहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै, लुम्बिनी प्रदेश सरकारले दलित अधिकार ऐन ल्याउने तयारीमा रहेको जानकारी दिए। उनले तिलोत्तमा नगरपालिकाले गरेको पहललाई ‘नमूना कार्य’ को संज्ञा दिंदै यसले अन्य स्थानीय सरकारहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे।
नगर प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरलाई ‘मानवताको शहर’ बनाउने दीर्घकालीन लक्ष्यसहित ज्ञान उत्सव आयोजना गरिएको जानकारी दिए। उनले कुनै पनि नागरिक विभेदमा नपरोस्, अपहेलित नहोस् भन्ने उद्देश्यसहित यस्तो अभियान थालिएको भन्दै जातीय विभेदमा संलग्न हुनेलाई कारबाही गरिने स्पष्ट संदेश दिए।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उत्सवलाई दीर्घकालीन सामाजिक रुपान्तरणको योजनासँग जोडिएको बताए। ‘ह्युम्यानिटी सेन्ट्रिक सिटी’ निर्माणको दिशामा तिलोत्तमा नगर अगाडि बढिरहेको उल्लेख गर्दै उनले जातीय सहिष्णुता, समानता र समावेशी दृष्टिकोण विकासका लागि यस्ता कार्यक्रम अत्यन्त जरुरी रहेको बताए।
पूर्वमन्त्री तथा संघीय सांसद छविलाल विश्वकर्माले उद्घाटन सत्रमा संविधानले जातीय भेदभावलाई अपराध घोषणा गरेको भन्दै, व्यवहारिक परिवर्तन बिना सामाजिक समृद्धि सम्भव नहुने बताए। उनले यस्ता ज्ञानमूलक कार्यक्रमहरूले समाजमा चेतना र सहिष्णुताको बर्खा ल्याउने विश्वास व्यक्त गरे।
उत्सवको क्रममा ‘दलित पासपोर्ट चित्र’ र ‘दलित विकास रणनीति’ नामक महत्त्वपूर्ण दस्तावेजहरूको विमोचन गरियो। वन तथा वातावरण समितिका संयोजक सुरेन्द्र श्रीका अनुसार यी दस्तावेजहरू दलित समुदायको हक, अधिकार र समावेशी विकासको मार्गचित्रका रूपमा काम गर्ने छन्।
सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीका अनुसार कार्यक्रम दलित समुदायको इतिहास, संस्कृति, साहित्य, दर्शन, युवा सशक्तिकरण, र समानताका सवालमा आधारित छलफल, बहस, र प्रस्तुतीले भरिएको थियो। यसै क्रममा विभेदविरुद्धको चित्रकला प्रदर्शनी, गीत–संगीत कार्यक्रम, र विभिन्न तहका जनप्रतिनिधिहरूको अनुभव आदान–प्रदानले उत्सवलाई अझ जीवित, सन्देशमूलक र परिवर्तनशील बनायो।
शनिबारको विशेष सत्रमा पूर्वमन्त्री मिन विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तोला, र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संघीयतामा दलित समुदायको प्रतिनिधित्व, अधिकार र वर्तमान चुनौतीबारे धारणा राखे। उनीहरूले संघीयता दलित समुदायका लागि न त पूर्ण खुशी न त निराशाको अवस्था भएको भन्दै, प्रतिनिधित्वमा सुधार भए पनि त्यो अझ पर्याप्त नभएको धारणा राखे।
तिलोत्तमा दलित ज्ञान उत्सव २०८२ न केवल एक सांस्कृतिक, शैक्षिक र सामाजिक गतिविधि थियो, यो एउटा स्पष्ट सामाजिक सन्देश पनि बन्यो – भेदभाव अन्त्य, सम्मानको सुरुवात। मानव अधिकार, न्याय र समानताको यो अभियानले तिलोत्तमालाई साँच्चिकै ‘ह्युम्यानिटी सेन्ट्रिक सिटी’ बनाउने दिशामा अगाडि सारेको छ।



















