बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ जितवापुरमा दुई समुहका युवाबीच भएको कुटाकुटबाट एकजना घाईते भएका छन्।
स्थानीयका अनुसार जेठ २ गते देखि जितवापुरमा चलिरहेको महायज्ञमा रहेका युवाहरु र वडा नंं ५ मोहसड गाउँबाट गएका युवाहरुको समुहबीच सनिवार राती कुटपिट भएको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रदिप क्षेत्रीका अनुसार जितवापुरमा गत जेठ २ गतेदेखि महायज्ञ चलिरहेको थियो। उक्त महायज्ञ स्थलमा मोहसडका केहि युवाहरु रातीको समयमा गएर विवाद गर्दै आएका थिए।
सनिवार राती पनि करिब १२ बजेतिर गएका युवाहरुको समुहले महायज्ञ स्थलमा रहेका युवाहरुसँग विवाद गरेपछि कुटपिट सुरु भएको थियो। कुटपिटको क्रममा स्थानीय विक्रम सिंह घाईते भएका छन्। विक्रमको हात खुट्टामा चोट लागेको र उनको भैरहवास्थित भिम अस्पतालमा उपचार भईरहेको प्रहरी उपरिक्षक क्षेत्रीले जानकारी दिए।
अर्कै गाउँका युवाहरु महायज्ञ स्थलमा आएर कुटपिट गर्न थालेपछि इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा मोहसडका २७ वर्षीय कमरउद्धिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर रहेका छन्।
प्रहरी उपरिक्षक क्षेत्रीले पक्राउ परेकाहरुको साथबाट गोली नभएको एकथान कटुवा पेस्तोल समेत बरामद गरिएको जानकारी दिए। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको र थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक क्षेत्रीले बताए।

















