डेंगु रोगको बढ्दो जोखिमलाई ध्यानमा राख्दै संखुवासभामा लामखुट्टे नियन्त्रणका लागि व्यापक खोज तथा नष्ट गर्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
‘लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँ र भाँडाहरू सफा गरौं, लामखुट्टेको फुल नष्ट गरौं’ भन्ने मूल नारासहित बिहीबार खाँदबारीमा विशेष अभियान चलाइएको हो ।
स्वास्थ्य कार्यालय संखुवासभा र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा ग्यारेजभित्र टायरमा जमेको पानी, खुला क्षेत्रमा रहेका भाँडाकुँडा, फोहरमैला, फूलदान, पानी ट्याङ्की, कुचो राख्ने ठाउँ, च्याउबारी तथा झाडीभित्र लामखुट्टे प्रजनन गर्न सक्ने सबै सम्भावित स्थानलाई खोजी सफा गरिएको थियो ।
लामखुट्टेको अण्डा र लार्भा नष्ट गरिनुका साथै स्थानीयवासीलाई आफ्नो घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, स्थानीय क्लब तथा सामाजिक संस्थाका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी टोलीले सरसफाइसँगै झाडी फाड्ने, फोहर व्यवस्थापन गर्ने र पानी जम्ने सम्भावित भाँडाहरू पल्टाएर सुकाउने कार्य पनि गरेका थिए ।

















