विज्ञापन

बेल्जियममा प्रस्तुति दिएर युरोपबाट बिदा भयो ‘नेपथ्य’

विज्ञापन
Image
विज्ञापन

एन्टवर्पेन (बेल्जियम) । लन्डनको वेम्बली एरिनामा १० हजार दर्शकमाझ प्रस्तुति दिएर सुरु भएको ‘नेपथ्य’को श्रृखलाबद्ध युरोप यात्रा लगातारको सफल प्रस्तुतिपछि टुंगिएको छ ।

ब्याण्डले यस वर्षको युरोप यात्राको अन्तिम प्रस्तुति बुधबार बेल्जियममा पस्कियो । स्थानीय एईडी स्टुडियोस्थित हलभरि दर्शकको उपस्थितिमाझ बुधबार बेलुकी ठीक ८ बजे कन्सर्ट सुरु भएको थियो ।

दुईवटा म्युजिक भिडियो सकिनासाथ चर्को दर्शक आवाजबीच नेपथ्य टोली मञ्चमा देखा परेको थियो । लगत्तै जब गायक अमृत गुरुङ मञ्चमा उपस्थित भए, हलभरि विभिन्न ‘स्पेशल इफेक्ट’ का प्रभाव- ध्वनि, प्रकाश, सीओटूको मुस्लो र कनफेटिको टुक्रा बनेर फैलिन थाले । र, सुरु भयो नेपथ्यको पहिलो गीत ‘कोशीको पानी यो जिन्दगानी’ ।

गीतमा रहेको ‘आमाको कोखमा बास मात्र लिएँ, कुन देशको मरन हौ हजुर’ गाइरहँदा दर्शकदीर्घामा कतिपय अनुहार भावुक देखिन्थे ।

‘माल्टामै आयोजित अघिल्लो कार्यक्रममा केहि गीत मात्र सुन्न पाएको थिएँ,’ बेल्जियमको कन्सर्ट हेर्न माल्टादेखि आइपुगेका रेस्टुरेन्ट व्यवसायी उदयबाबु श्रेष्ठ भन्दै थिए, ‘नेपथ्य युरोपमै रहेको बेला पुरै कन्सर्ट हेरेरै छाड्ने अठोटका साथ त्यति परदेखि आएँ ।’

कन्सर्ट अवधिभर नाच्दै रमाइरहेका उदयबाबु केवल यत्ति हेर्नका लागि बेल्जियम आएका थिए र बिहीबार बिहानैको पहिलो विमानबाट माल्टा फर्केका थिए । ‘नेपथ्यले मलाई जीवनकै एउटा यादगार साँझ दिएको छ,’ उनले थपे, ‘त्यसका लागि म ब्यान्डलाई धन्यवाद नदिइरहन सक्दिनँ ।’

कन्सर्टमा त्यसपछि ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’जस्ता नेपथ्यका सर्वकालीक हिट गीत गुञ्जिएका थिए ।

‘यस सहरमा नेपाली समुदायको चहलपहल लामो समयदेखि भए पनि यति धेरै दर्शकचाहिँ आज पहिलोपटक देखिएका हुन्,’ आयोजक टोलीका अजित तुलाचन भन्दै थिए, ‘यसअघि ठूला आयोजनामा पनि बढीमा ६–७ सय दर्शक मात्र सहभागी हुन्थे ।’

अजितका अनुसार दर्शक उपस्थिति मात्र नभई स्तरीयताका हिसाबले पनि बेल्जियमको माटोमा यस कन्सर्टले नेपाली कार्यक्रमका लागि कोशेढुंगा स्थापित गरिदिएको छ ।

‘अन्तर्राष्ट्रिय स्तरको शो प्रस्तुत गर्न सक्ने व्यावसायिक समूहसँग आयोजक भई काम गर्दाको अनुभवै बेग्लै हुन्छ,’ उनले थपे, ‘यस सहकार्यबाट मलाई धेरै ज्ञान बटुल्ने अवसर पनि प्राप्त भएको छ ।’

कन्सर्टमा मायाप्रीतिका गीतदेखि लिएर ‘यो जिन्दगानी’ जस्तो सामाजिक भावना, ‘गाउँगाउँबाट उठ’ जस्ता जागरण हुँदै ‘रातो र चन्द्रसुर्जे’ जस्तो राष्ट्रियता झकझक्याउने गीत प्रस्तुत भए ।

सधैँझैँ यिनै गीतका भावसँग मिल्ने सामाजिक सन्देश पनि बीच–बीचमा गायक अमृतले प्रवाह गरे । विदेशमा रहँदा सबैलाई मिलेर बस्न आह्वान उनले गरे ।

‘तपाईंहरू बसेको मुलुकको संस्कृति र यहाँका मानिसलाई सम्मान गर्न नछाड्नुहोला,’ उनी भन्दै थिए, ‘तपाईंले उनीहरूलाई सम्मान गर्नुभयो भने तपाईंको मान पनि उनीहरूले राख्नेछन् ।’

युरोपका मुलुक घुम्दै गर्दा धेरैले अमृतलाई अवसरको खोजीमा आफू यतातिर आएको बताएका रहेछन् । ‘तपाईंको समयलाई आर्थिक लाभका साथसाथै ज्ञान र अनुभव आर्जन गर्नमा पनि सदुपयोग गर्नुस्,’ उनले आह्वान गरे, ‘एक दिन तपाईं आफ्नै हिमालको काखमा आएर देशको उन्नतिमा लाग्नुपर्छ ।’

विगतमा बर्मा, मेघालय र भुटानजस्ता देशबाट फर्काइएका नेपालीको भोगाइलाई सम्झेर भए पनि स्वदेशसँगको आफ्नो नातासम्बन्ध जोगाइरहन अमृतले सुझाव पनि दिए ।

’कथम्कदाचित् केही भइहाले तपाईंहरु आउने त्यही हिमालको काख नै हो,’ उनले भने ।

कन्सर्टमा बेल्जियमबाहेक वरपरका युरोपेली मुलुक खास गरी नेदरल्यान्ड्स, लक्जेम्बर्ग, फ्रान्स, जर्मनी, अस्ट्रिया लगायतबाट आएका दर्शक पनि उत्तिकै देखिन्थे । कन्सर्टको अन्त्यतिर अमृतले दर्शकसँग ‘अब कुन गीत सुन्ने ?’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए ।

‘रेशम’पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसुर्जे’ गीतमा पुगेपछि कार्यक्रम अन्त्य भएको थियो । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

लन्डनको वेम्बली एरिनाबाट एक महिनाअघि सुरु भएको ‘नेपथ्य’को श्रृंखलाबद्ध युरोप यात्राका क्रममा नेपथ्यले डेनमार्क, माल्टा र पोर्चुगलमा पनि आफूलाई प्रस्तुत गरेको थियो ।

सबैतिरजस्तै बेल्जियममा पनि ‘हाउसफुल’ दर्शकको माया बटुलेर १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली स्वदेश फर्केको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन