२ माघ, काठमाडौं। नेपालको वर्तमान राजनीतिक गतिरोध र परम्परागत तथा उदीयमान शक्तिहरूको असफलतालाई चिर्न भन्दै तीन फरक राजनीतिक शक्तिहरूले ‘समावेशी, लोकतान्त्रिक, नैतिक तथा वैकल्पिक राजनीतिक सहकार्य’ (आईडिया) मञ्चको घोषणा गरेका छन्।
बिहीबार काठमाडौंमा एक संयुक्त विज्ञप्ति जारी गर्दै पिपुल्स फर्स्ट पार्टी, समावेशी–समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनले आगामी आम निर्वाचन लगायतका राजनीतिक कार्यहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
गठबन्धनले जारी गरेको विज्ञप्तिका अनुसार, हालको राजनीति कृत्रिम र बनावटी तवरले ‘पुरानो’ र ‘नयाँ’ को नाममा ध्रुवीकृत भइरहेको छ। एकातिर दशकौँसम्म सत्तामा रहेर असफल भएका पुराना दलहरू र अर्कोतिर आन्दोलनलाई ‘हाइज्याक’ गरेर व्यक्तित्व पूजामा रमाउने नयाँ शक्तिहरूबीच राष्ट्रका वास्तविक मुद्दाहरू ओझेलमा परेको गठबन्धनको ठहर छ।
यही रिक्ततालाई पूर्ति गर्न आधारित यो मोर्चाले चार प्रस्ताव अगाडि गरेको विज्ञप्तिमा उल्लेख छ । आईडिया मञ्चका अनुसार, ‘आई’ले उत्पीडित समुदायको वास्तविक प्रतिनिधित्व सुनिश्चित गर्ने इन्क्लुसिभ अर्थात् समावेशी, ‘डी’ले विधिको शासन र आन्तरिक लोकतन्त्रप्रति प्रतिबद्ध रहने लोकतान्त्रिक, ‘ई’ले पारदर्शिता र जवाफदेहितामा आधारित राजनीति नैतिक (ईथिकल) र ‘ए’ ले असफल पुराना र अवसरवादी नयाँ दुवैको विश्वसनीय विकल्प बन्ने वैकल्पिक (अल्टरनेटिभ) गरी चार मूल मान्यतालाई मोर्चाले पछ्याउने बताइएको छ ।
नयाँ घोषित मञ्चले निर्वाचन प्रणाली र शासकीय स्वरूपमा आमूल सुधारको माग गरेको छ। निर्वाचन सुधार गर्न विदेशमा रहेका नेपालीको मतदान अधिकार, मतपत्रमा ‘नो भोट’ को व्यवस्था र दलभित्र उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचन (प्राइमरी) को सुनिश्चितता गर्न मञ्चले माग गरेको छ ।
मञ्चले आर्थिक पारदर्शिता र सुशासनलाई पनि प्राथमिकतामा राख्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा पिपुल्स फर्स्ट पार्टीका संयोजक प्रशान्त सिंह, समावेशी–समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बू र दलित गोलमेच सम्मेलनका संयोजक डा. निर्मल विश्वकर्माले हस्ताक्षर गरेका छन् ।
यो मञ्चले आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, दलित, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक एवं अपाङ्गता भएका समुदायको सवाललाई राज्यको मूल प्रक्रियामा समायोजन गर्न संघर्ष गर्ने प्रण गरेको छ। यो मोर्चा केवल चुनावी तालमेलमा मात्र सीमित नरही साझा राजनीतिक आदर्श निर्माणको दीर्घकालीन यात्रा भएको नेतृत्वले दाबी गरेको छ।
मञ्चले समान विचार भएका अन्य दल, समूह र अभियानहरूलाई पनि यस वैकल्पिक र अग्रगामी शक्तिमा समाहित हुन आह्वान गरेको छ।

















