बुटवल–१५, ढवाहामा अवस्थित वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले बुटवल–१४, नयाँगाउँस्थित मुक्तिनाथबाबा धाम मन्दिर परिसरमा एक दिने सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम सम्पन्न गरेका छन्। कलेजको दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा मिति २०८३ साउन ४ गते सोमबारका दिन उक्त सामाजिक उत्तरदायित्वमूलक कार्य सम्पन्न भएको हो।

कार्यक्रमको उद्देश्य र आगामी योजना
श्रावण महिनाको पावन अवसरमा मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्थी भक्तजनहरूलाई सहजीकरण तथा सेवा पुर्याउने मुख्य उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

कलेजका अनुसार यो सरसफाइ तथा सेवा अभियान साउन महिनाभरि निरन्तर सञ्चालन हुनेछ। जसअन्तर्गतका आगामी कार्यक्रमहरूको तालिका यसप्रकार रहेको छ:
मिति २०८३ साउन ११ गते: पाल्पा दोभानस्थित सिद्धबाबा मन्दिर र सैनामैना–४ स्थित बोलबमधाम।
मिति २०८३ साउन १८ गते: जानकीनगरस्थित श्री सिद्धेश्वरनाथ शिव मन्दिर र नयाँमिलस्थित दुर्गा÷शिव मन्दिर।
मिति २०८३ साउन २५ गते: भैरहवास्थित मोक्षधाम र बसदिलवा शिव मन्दिर परिसर।
व्यावहारिक शिक्षा र सामाजिक उत्तरदायित्वमा जोड
किताबी ज्ञानमा मात्र सीमित नराखी विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउन र उनीहरूमा सामाजिक उत्तरदायित्वको बोध गराउन यस्ता रचनात्मक कार्यहरूलाई कलेजले सधैँ प्राथमिकताका साथ अगाडि बढाइएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिनुभयो। कलेजका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति र उत्साहजनक सहभागिताले कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो।

कलेजको शैक्षिक कार्यक्रम तथा भर्ना खुला
वेस्टर्न मेगा कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यस कलेजमा हाल स्नातक तह अन्तर्गत ४ वर्षे BIT (बचलर अफ इन्फर्मेसन टेक्नोलोजी) तथा स्नातकोत्तर तह अन्तर्गत २ वर्षे MBS (मास्टर अफ बिजनेस स्टडीज) कार्यक्रमहरू अध्यापन गराइन्छ। साथै, शैक्षिक सत्र वर्ष २०८३ का लागि नयाँ भर्ना खुला रहेको समेत कलेजले जानकारी गराएको छ।

















