२० साउन, काठमाडौं । भारतका जम्मु–कश्मीर, केरल र झारखण्डमा भारी वर्षा, बाढीपहिरो र चट्याङका घटनाले जनधनको क्षति बढेको छ ।
झारखण्डमा मंगलबार चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृतकमध्ये सबैभन्दा धेरै ९ जना गिरिडीह जिल्लाका, ३ जना दुमका र २ जना लातेहार जिल्लाका रहेका छन् । घाइतेहरूको अस्पतालमा उपचार जारी छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।
जम्मु–कश्मीरको शोपियाँ जिल्लाको जोरा गाउँमा सोमबार राति आएको बाढीले बस्ती, कृषि जमिन र व्यवसायिक प्रतिष्ठानहरू डुबानमा परेका छन् । उत्तरी कश्मीरको बान्डीपोरा जिल्लास्थित सुमलर क्षेत्रमा पनि बाढीका कारण तीनवटा घरमा क्षति पुगेको छ ।
बाढीपीडितलाई लाइफ ज्याकेट दिएर ज्यान गुमाए प्रशिक्षकले
केरलमा बाढी उद्धारका क्रममा साहसिक घटना पनि सार्वजनिक भएको छ । गत १ अगस्टमा पौडी प्रशिक्षक आर. राजेशले बाढीमा बगिरहेका ६१ वर्षीय एक व्यक्तिलाई आफ्नो लाइफ ज्याकेट लगाइदिएर उद्धार गरेका थिए ।
तर, उद्धारपछि फर्किने क्रममा सुरक्षा डोरीबाट उनको हात छुटेपछि उनी तीव्र भेलमा बगेर बेपत्ता भएका थिए । पछि उनको मृत्यु भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केरलमा २५ जनाको मृत्यु, १८ हजारभन्दा बढी विस्थापित
केरलमा १ अगस्टदेखि निरन्तर परेको वर्षाका कारण बाढीको प्रकोप देखिएको छ । अहिलेसम्म वर्षासम्बन्धी घटनामा २५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
राज्य सरकारका अनुसार बाढीका कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । १८ हजारभन्दा बढी प्रभावितलाई राहत शिविरमा राखिएको छ । पथनमथिट्टा, कोट्टायम र अलप्पुझा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् ।
भारी वर्षाका कारण राज्यका धेरै नदी र बाँधमा जलसतह उच्च बनेको छ ।
उत्तराखण्डमा भारी वर्षाको चेतावनी
भारतीय मौसम विभागले उत्तराखण्डका देहरादून र बागेश्वर जिल्लाका लागि भारी वर्षाको ‘अरेन्ज अलर्ट’ जारी गरेको छ । प्रदेशका अधिकांश क्षेत्रमा आगामी १० अगस्टसम्म वर्षा जारी रहने अनुमान गरिएको छ ।
भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै देहरादून र बागेश्वर जिल्लाका कक्षा १२ सम्मका सबै विद्यालयमा बुधबार बिदा दिइएको छ ।
अविरल वर्षा र पहिरोका कारण हिमाचल प्रदेश र उत्तराखण्डमा गरी २५२ वटा सडक अवरुद्ध भएका छन् । तीमध्ये १५३ सडक हिमाचल प्रदेशमा र ९९ सडक उत्तराखण्डमा बन्द रहेका छन् ।
अधिकारीहरूले प्रभावित क्षेत्रमा सतर्क रहन तथा आवश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

















