भोजपुर । भोजपुरमा लोपोन्मुख वन्यजन्तु **रेड पान्डा (हाब्रे)**को संरक्षण कार्य सुरु गरिएको छ। रेड पान्डा देखिने सम्भावित क्षेत्रहरूको पहिचान गर्दै संरक्षण पहल अघि बढाइएको हो।
रेड पान्डा नेटवर्कको सहकार्यमा, भोजपुरका चारवटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरी रेड पान्डाको गतिविधि अनुगमनको काम भइरहेको छ। साथै, रेड पान्डाको मुख्य आहार मानिने **मालिङ्गो (बाँस प्रजाति)**का ८ हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए।
उनका अनुसार रेड पान्डाको संरक्षणसँगै अन्य वन्यजन्तुका लागि पनि वातावरण निर्माण गर्ने उद्देश्यले तीनवटा ठूला पोखरी निर्माण गरिएको छ। गत आर्थिक वर्षमा मालिङ्गो रोपाइँ र पोखरी निर्माणमा श्रमदानसहित झण्डै १३ लाख ३० हजार रुपैयाँ बराबरको कार्य सम्पन्न भएको अधिकारीले बताए।
“हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणमा पनि काम गरिरहेका छौँ,” अधिकारीले भने, “रेड पान्डाले मालिङ्गोका कोपिला मन पराउँछ, त्यसैले सोही अनुसार बिरुवा रोपिएको हो।”
सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले क्यामेरा जडान गरिएका वन क्षेत्रहरूमा धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा देखिएको पुष्टि गरे। नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामुदायिक वनमा क्यामेरा राखिएको जानकारी दिँदै श्रेष्ठले भने, “हामी रेड पान्डा नेटवर्कसँग सहकार्यमा संरक्षणको काम गर्दैछौँ। चोरी, सिकारी रोक्न स्थानीयलाई सचेत गराइँदैछ।”
रेड पान्डाको सुरक्षाका लागि सात वटा घुम्ती गस्ती समूह गठन गरिएको छ भने २ जना वन अभिभावकलाई पारिश्रमिकसहित नियुक्त गरिएको छ। उनीहरूले रेड पान्डाको अवस्थाबारे जानकारी संकलन गर्ने र समय–समयमा प्रतिवेदन अद्यावधिक गर्नेछन्।
रेड पान्डा चोरी वा सिकारी गर्नेहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ देखि १० वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार रेड पान्डाको संरक्षणसँगै यसलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि सारिएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले टेम्केमैयुङ गाउँपालिकामा विभिन्न निकायसँग मिलेर रेड पान्डाको संरक्षणमा जोड दिइएको बताए।
“रेड पान्डा पाइने क्षेत्रलाई ‘रेड पान्डा जोन’ को रूपमा विकास गर्ने लक्ष्य राखिएको छ,” उनले भने।










