दोधारा चाँदनी । टिनको छाना भएका कच्ची घरहरूमा रातो झण्डा लहराइरहेका छन्, हावासँगै फर्फराउँदा ती झण्डाले खास अर्थ बोकेको संकेत गर्छन्। बाढीप्रभावित क्षेत्र कुतियाकवर लगायत दोधारा चाँदनीका वडाहरूमा देखिने यी झण्डा स्थानीय समुदायको विपद् व्यवस्थापनको सोचको प्रतिविम्ब हुन्।
यी झण्डामा संकेतहरू छन्— बालबालिकाको चित्र, अपाङ्गताको चिन्ह वा सादा झण्डा। स्थानीय रुपा सुनार भन्छिन्, “बाढी आउँदा कसलाई प्राथमिकतामा उद्धार गर्ने भन्ने स्पष्ट गर्न यस्ता चिन्ह राखिएका हुन्।”
दोधराचाँदनी–१० सहित सात वटा वडा सरकारले औपचारिक रूपमा ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेका छन्। स्थानीयहरू पनि त्यसअनुसार सजग भएका छन्। उनीहरूले जोखिम नक्साङ्कन गरेर घरमा संकेतसहितका रातो झण्डा राखेका छन्।
निर्मला सुनारले भनिन्, “बाढीका बेला उद्धार टोलीलाई कुन घरमा बालबालिका, अपाङ्ग वा वृद्धवृद्धा छन् भनेर पहिचान गर्न सहज होस् भनेर हामीले यस्तो तयारी गरेका हौँ।”
वडाध्यक्ष चन्द्रबहादुर सिंहका अनुसार हालसम्म ४५ घरमा रातो झण्डा राखिएको छ। कुतियाकवर बस्ती मात्रै होइन, शान्ति टोल, सुर्खेती टोल, अठार नम्बर पिलर, सुन्दरनगर, ढकनाघाट, कञ्जभोज, पटराखल्ला लगायतका क्षेत्रमा पनि यस्तै अभ्यास भइरहेको छ।
कुतियाकवर बस्ती तीनतिर नदीले घेरेको स्थान हो—उत्तरमा जोगबुढा, पूर्वमा महाकाली, र दक्षिणमा भारतसँग जोडिएको छ। जोगबुढामा झोलुङ्गे पुल बनेपछि नगरसँग जडान त भएको छ, तर बाढीले कटान र विस्थापनको समस्या वर्षेनी दोहोरिन्छ।
अहिले कुतियाकवरमा पहिलेका ४९ परिवारमध्ये ३९ मात्र बाँकी छन्। बाँकी केही भारततिर गएका छन्, भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र गएका छन्। बस्तीको करिब ५० बिघा क्षेत्रफल पनि कटानका कारण वर्षेनी घट्दै गएको छ।










